पोखरा । बेलायतमा अथाह सम्पत्ति रहेको र नेपाल आएर सँगै जीवन बिताउने प्रलोभनमा परेकी कास्कीकी एक महिलाले ३१ लाख रुपैयाँ गुमाएकी छन्। ठगी भएको भन्दै प्रहरीले थप रकम नपठाउन सचेत गराएपछि पनि ठगको भावनात्मक दबाबमा परेर उनले २२ लाख रुपैयाँ पठाएकी हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ठगी फेसबुकबाट सुरु भएको थियो। बेलायतको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित र बेलायतमा प्रशस्त सम्पत्ति रहेको भन्दै महिलासँग मित्रता गाँसेका थिए। उनले बेलायतको सम्पत्ति बेचेर नेपाल आई घरजग्गा किन्ने र महिलासँगै जीवन बिताउने आश्वासन दिएका थिए।
विश्वास दिलाउन उनले विमानस्थलका भिडियो पठाउने र भिडियो कलसमेत गर्ने गरेका थिए। केही समयपछि भारत हुँदै नेपाल आउन लागेको बताएपछि भारतीय प्रहरीको पोसाक लगाएको तस्बिर भएको ह्वाट्सएप नम्बरबाट महिलालाई फोन आएको थियो। फोन गर्ने व्यक्तिले उनका साथी ठूलो परिमाणको नगद र सम्पत्तिसहित पक्राउ परेको र छुटाउन भन्सार तथा जरिवानाबापत रकम तिर्नुपर्ने बताएको प्रहरीले जनाएको छ।
भावी श्रीमान ठानेको व्यक्ति समस्यामा परेको विश्वासमा महिलाले पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन्। रकम पठाएपछि शंका लागेर उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। प्रहरीले अनुसन्धानका क्रममा ठगी भएको भन्दै थप रकम नपठाउन सचेत गराएको थियो।
तर ठगको प्रभावबाट मुक्त हुन नसकेकी महिलालाई फेरि सम्पर्क गरी ‘म अब निस्कन लागेँ, बाँकी २२ लाख दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भन्दै रकम मागिएको थियो। त्यसपछि उनले थप २२ लाख रुपैयाँ पठाइन्।
अन्ततः भारतीय प्रहरीसँगको समन्वयमा सम्बन्धित व्यक्ति अपराधी भएको पुष्टि भएपछि मात्र आफू ठगीमा परेको उनले स्वीकारेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र पासवानले यसलाई अनलाइन ठगीको प्रतिनिधिमूलक घटना मात्र भएको बताए। उनका अनुसार सामाजिक सञ्जालमार्फत सस्तो सामानको विज्ञापन राख्ने, स्क्रिन सेयर गराएर ओटीपीमार्फत बैंक खाताबाट रकम निकाल्ने, साथी वा आफन्तको फेसबुक तथा ह्वाट्सएप ह्याक गरी आपतमा परेको बहानामा रकम माग्ने गिरोह सक्रिय छन्।
आकर्षक देश पठाइदिने भन्दै नक्कली कागजात बनाउने र विभिन्न प्रक्रियाका नाममा रकम असुल्ने, बैंक वा डिजिटल भुक्तानी सेवाका कर्मचारी बनेर केवाईसी अपडेटका लागि ओटीपी माग्ने तथा थोरै लगानीमा दोब्बर रकम दिने भन्दै विश्वास जितेर पछि सम्पर्कविहीन हुने ठगी पनि बढ्दो रहेको उनले बताए।
“थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासन ठगीको पहिलो संकेत हो,” पासवानले भने।
प्रहरीले बैंक खाताको विवरण, पिन र ओटीपी कसैलाई नदिन, शंकास्पद लिङ्क नखोल्न, अनधिकृत एप डाउनलोड नगर्न र कुनै पनि अनलाइन कारोबारअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको छ। ठगी भएको आशंका लागे तत्काल प्रहरीमा सम्पर्क गर्नसमेत कास्की प्रहरीले अपिल गरेको छ।