काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र पहिचानलाई आधुनिक विकासको मोडलका रूपमा अगाडि बढाउनुपर्ने बताएकी छन्।
३२औं विश्व आदिवासी दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आदिवासी जनजातिको परम्परागत ज्ञानलाई इतिहास वा संग्रहालयमा सीमित नगरी समुदाय विकासको जीवित आधार बनाउनुपर्नेमा जोड दिइन्।
उनले आदिवासी जनजातिको परम्परागत ज्ञान शहर निर्माण, सिँचाइ, संस्कृति संरक्षण र जलवायु परिवर्तनजस्ता क्षेत्रमा उपयोगी रहेको बताइन्। ‘हाम्रा पुर्खाहरूले जमिन मात्र होइन, वैज्ञानिक जीवन पद्धति पनि सिकाएका छन्,’ उनले भनिन्।
पहिचान र भाषाबीचको सम्बन्ध उल्लेख गर्दै डंगोलले नेपालका ९० प्रतिशतभन्दा बढी भाषा आदिवासी जनजाति समुदायसँग सम्बन्धित रहेको बताइन्। मातृभाषाको पुस्तान्तरण अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले घरमै छोराछोरी र नातिनातिनासँग मातृभाषा बोल्ने र संस्कार सिकाउने अभ्यास बढाउनुपर्नेमा जोड दिइन्।
‘आफ्नो लवज र पहिचानमा हीनताबोध होइन, गर्व गर्नुपर्छ,’ उनले भनिन्।
डंगोलले आधुनिकताका नाममा मातृभाषा बोल्न हिचकिचाउने प्रवृत्तिको आलोचना गर्दै अधिकारसँगै भाषा, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणको दायित्वलाई पनि समान प्राथमिकता दिनुपर्ने बताइन्।
उनले विश्व आदिवासी दिवसले समाजमा न्याय, समता र समावेशितालाई बलियो बनाउँदै अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने विश्वास पनि व्यक्त गरिन्।