काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले सुरक्षा निकाय विस्तारलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, विज्ञान–प्रविधि र रोजगारीलाई बेवास्ता गर्नु सरकारको गलत नीति भएको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सिंहले नेपालमा जनसंख्याको अनुपातमा सुरक्षाकर्मीको संख्या विश्वकै उच्चमध्ये रहेको दाबी गरे। शिक्षा र रोजगारीमा लगानी बढाउनुपर्ने बेला सरकारले सुरक्षा संयन्त्र विस्तारतर्फ केन्द्रित भएको उनको आरोप थियो।
‘तपाइँले युवाहरुलाई विदेश जान रोक्नुस् न, रोजगारी यहाँ दिनुस् न। रोजगारीको लागि कुनै छैन, तपाइँले यो राष्ट्रिय क्याडर बनाउने र मलेसिया कतार साउदीमा बेल्चा बोक्ने यसले राष्ट्रियता हुन्छ र ?’ उनले भने।
सिंहले सुरक्षा निकायको परिचालनमाथि पनि प्रश्न उठाउँदै मधेसी, जनजाति, दलित र थारु समुदायका आन्दोलन दमन गर्न बल प्रयोग गरिएको टिप्पणी गरे। मधेसमा सशस्त्र प्रहरीको अत्यधिक उपस्थितिले समुदायमा मनोवैज्ञानिक त्रास सिर्जना भएको दाबी गर्दै उनले सशस्त्र प्रहरी फिर्ता गर्न माग गरे। सशस्त्रले एक इन्च जमिनको पनि रक्षा नगरेको समेत उनले टिप्पणी गरे।
उनले राष्ट्रियताको नाममा गरिब र विपन्न वर्गका नागरिकले मात्रै बलिदान दिनुपरेको, नेतृत्व तहका नेताका सन्तान भने आन्दोलनको मारमा नपरेको समेत आरोप लगाए। साथै, सुरक्षा निकायको पछिल्लो परिचालनबारे राज्य व्यवस्था समितिमा छुट्टै छलफल गर्न पनि उनले माग गरे।