नेपालगन्ज । बाँके जिल्लामा पछिल्लो पाँच वर्षको अवधिमा ८१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। २०७४ सालको स्थानीय निर्वाचनका बेला जिल्लामा २ लाख ४८ हजार ४३४ मतदाता रहेकामा २०७९ सालको स्थानीय निर्वाचनका लागि यो संख्या बढेर ३ लाख २९ हजार ४७३ पुगेको हो।
जिल्लामा सबैभन्दा धेरै मतदाता नेपालगन्ज उपमहानगरपालिकामा रहेका छन्। यहाँ ८१ हजार ७९४ मतदाता छन्। सबैभन्दा कम मतदाता भने नरैनापुर गाउँपालिकामा रहेका छन्, जहाँ १८ हजार ५९९ मतदाता छन्।
अन्य स्थानीय तहमा कोहलपुर नगरपालिकामा ५६ हजार ७९७, बैजनाथ गाउँपालिकामा ४५ हजार १२३, राप्तीसोनारी गाउँपालिकामा ४४ हजार ८१२, खजुरा गाउँपालिकामा ३७ हजार २६४, जानकी गाउँपालिकामा २२ हजार ८२९ र डुडुवा गाउँपालिकामा २२ हजार २५५ मतदाता रहेका छन्।
२०७४ को तुलनामा सबैभन्दा धेरै नयाँ मतदाता नेपालगन्जमा १८ हजार ८८६ थपिएका छन्। त्यसपछि कोहलपुरमा १८ हजार ८४५, बैजनाथमा १२ हजार ३३१, राप्तीसोनारीमा १० हजार ६६५, खजुरामा ७ हजार ५७१, जानकीमा ४ हजार ७२८, डुडुवामा ४ हजार ५७७ र नरैनापुरमा ३ हजार ५५६ मतदाता थपिएका छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार बाँकेको कुल जनसंख्या ६ लाख ३ हजार ३९३ रहेको छ। यस आधारमा जिल्लाको कुल जनसंख्याको ५४.६ प्रतिशत नागरिक मात्रै स्थानीय निर्वाचनमा मतदान गर्न योग्य रहेका छन्।
८४ मतदान केन्द्र थपिए
मतदाताको संख्या बढेसँगै बाँकेमा मतदान केन्द्रको संख्या पनि उल्लेख्य रूपमा वृद्धि गरिएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा १३६ मतदानस्थलमा २९५ मतदान केन्द्र रहेकोमा २०७९ सालको निर्वाचनका लागि मतदानस्थलको संख्या यथावत राख्दै ३७९ मतदान केन्द्र कायम गरिएको छ। यससँगै जिल्लामा ८४ नयाँ मतदान केन्द्र थपिएका छन्, जसले मतदातालाई मतदानमा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।