काठमाडौं ।अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलमार्गमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण भएको छ।
घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने जलमार्गको सुरक्षा र अमेरिका–इरान तनावप्रति नयाँ चिन्ता थपेको छ।
बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजलाई स्थानीय समयअनुसार राति करिब २ बजे अज्ञात प्रक्षेप्यास्त्रले प्रहार गरेको थियो।
निकायले जहाजको नाम, झण्डा वा त्यसले बोकेको सामानबारे कुनै विवरण सार्वजनिक गरेको छैन। अल खसाब पर्सियन खाडीको प्रवेशद्वार मानिने हर्मुज जलमार्ग नजिक अवस्थित छ।
विश्वको ठूलो परिमाणमा तेल तथा प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यो जलमार्ग रणनीतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ।
फेब्रुअरीमा अमेरिका–इरान युद्ध सुरु भएयता इरानले जलमार्ग हुँदै हुने जहाज आवतजावतमा अवरोध पुर्याउँदै आएको छ भने अमेरिकाले पनि इरानी बन्दरगाहमाथि नाकाबन्दी कायम राखेको छ। त्यसका कारण अन्तर्राष्ट्रिय समुद्री व्यापार प्रभावित हुँदै आएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु भएको दाबी गरे।उनका अनुसार कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको आग्रहपछि अमेरिका कूटनीतिक प्रयासलाई निरन्तरता दिन तयार भएको हो।
ट्रम्पले इरानले सार्वजनिक रूपमा अस्वीकार गरे पनि दुवै पक्षबीच संवाद जारी रहेको बताए।
तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकासँग कुनै वार्ता नरहेको स्पष्ट पार्दै तेहरानको संवाद केवल ओमानसँग भइरहेको र त्यसको केन्द्र हर्मुज जलमार्गमा सुरक्षित जलयात्राको व्यवस्था रहेको बताए।
ट्रम्पले भने इरानले वार्ताको पहल आफैँ गरेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत तेहरानको सार्वजनिक अभिव्यक्तिलाई विरोधाभासपूर्ण भएको टिप्पणी गरे।उनले इरानले एकातिर वार्ताका लागि आग्रह गर्ने र अर्कोतर्फ कुनै छलफल नभएको दाबी गर्ने प्रवृत्तिले भ्रम सिर्जना गरेको आरोप लगाए।