एजेन्सी/वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसोदेखि इरानसँग वार्ता सुरु हुने बताएका छन्। उनले आइतबार जोइन्ट बेस एन्ड्र्युजतर्फ उडिरहेको एअर फोर्स वानमा सञ्चारकर्मीसँग कुरा गर्दै वार्ता हर्मुज जलसन्धि र इरानको परमाणु निशस्त्रीकरणका विषयमा केन्द्रित हुने बताएका हुन्।
ट्रम्पका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कतारले सम्भावित सम्झौताको सम्भावना औँल्याउँदै प्रस्तावित सैन्य कारबाही रोक्न आग्रह गरेपछि अमेरिकाले वार्तालाई प्राथमिकता दिएको हो।
‘अहिले हामी वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, जुन सोमबार दिउँसोबाट सुरु हुनेछ। हर्मुज जलसन्धि र इरानको निशस्त्रीकरणका विषयमा सम्झौता हुनेमा हामी आशावादी छौँ,’ ट्रम्पले भने।
उनले इरानले पनि प्रस्तावित सैन्य कारबाही रोक्न अमेरिकासँग आग्रह गरेको दाबी गर्दै अमेरिका जुनसुकै बेला सैन्य कदम चाल्न सक्षम रहे पनि सम्बन्धित पक्षहरूको आग्रहलाई ध्यानमा राखेर वार्ताको बाटो रोजिएको बताएका छन्।
यसअघि शनिबार साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदले ट्रम्पसँग टेलिफोन संवाद गरेका थिए। अमेरिकी अधिकारीहरूका अनुसार वार्ताका क्रममा उनले इरानविरुद्धको प्रस्तावित सैन्य योजनाबारे चासो र चिन्ता व्यक्त गर्दै स्पष्टता मागेका थिए।
इरान र अमेरिकाबीच बढ्दो तनावका बीच पाकिस्तान, कतार, युएई र टर्कीलगायत देशहरूले दुवै पक्षलाई संयमता अपनाउन तथा थप द्वन्द्वबाट बच्न आग्रह गर्दै आएका छन्।