काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा बाटो सोध्ने बहानामा महिला तथा वृद्धवृद्धामाथि श्रृंखलाबद्ध रूपमा सुनका सिक्री र नगद लुट्दै आएको ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेका पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङ, काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरुङ छन्। उनीहरूलाई बनेपासहित विभिन्न स्थानबाट पक्राउ गरिएको परिसर प्रमुख एसएसपी दिलिप घिमिरेले बताए।
प्रहरीका अनुसार कर्मा, प्रतिमान र पासाङ यसअघि पनि चोरी तथा डाँका मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्। कर्मालाई पक्राउ गर्ने क्रममा बुढानीलकण्ठको भैरव रोडमा प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि दुई राउन्ड हवाई फायर र एक राउन्ड गोली चलाइएको थियो। गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
अनुसन्धानका क्रममा समूहले बिहान वा साँझ एक्लै हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई पछ्याएर बाटो सोध्ने बहानामा रोकिन बाध्य पार्ने र केहीबेरमै मोटरसाइकलमा आएर लछारपछार गरी घाँटीको सुनको सिक्री तथा साथमा भएको नगद लुट्ने गरेको खुलेको छ।
प्रहरीका अनुसार घटनापछि प्रयोग गरिएको पल्सर मोटरसाइकलको नम्बर प्लेट तत्काल परिवर्तन गर्ने, काठमाडौंमा लगातार केही दिन अपराध गरेर १०–१५ दिन अन्यत्र लुक्ने शैली समूहले अपनाउने गरेको थियो।
हालसम्म काठमाडौं र काभ्रेमा भएका कम्तीमा चार वटा सिक्री लुटपाटमा समूहको संलग्नता खुलेको छ। शान्तिनगर, नरेफाँट, धुलिखेल–बनेपा र धापासीमा भएका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ। पछिल्लोपटक साउन ७ गते धापासीमा ६६ वर्षीया वृद्धाको सुनको सिक्री लुटिएको घटनामा पनि यही समूह संलग्न रहेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार प्रतिमान गोले लुटपाटका क्रममा मोटरसाइकल चालक थिए भने पासाङ घिसिङले प्रयोग भएका मोटरसाइकल व्यवस्थापन गर्थे। आले गुरुङले प्रतिरोध भएमा ‘ब्याकअप’को भूमिका निर्वाह गर्ने र मनोज तामाङले लुटिएका सुन पगालेर स्वरूप परिवर्तन गर्ने जिम्मेवारी सम्हाल्ने गरेको अनुसन्धानबाट खुलेको छ।
समूहबाट लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल, विभिन्न नम्बर प्लेट, हेल्मेट, ज्याकेट, जुत्ता, सुन पगाल्ने सामग्री, मोटरसाइकलको ह्यान्डल लक तोड्ने औजार, खुकुरी र मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।