जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच आइतबार जनकपुरधाममा भएको वार्तामा आन्दोलनका मागबारे मौखिक समझदारी भएपछि संगठनले नेपाल बन्दसहित घोषणा गरेका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच करिब डेढ घण्टा भएको वार्तापछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो। संगठनका उपाध्यक्ष कृष्ण सनातनीले यसअघि बुझाइएको १३ बुँदे मागमा थप ६ बुँदा समेटिएको परिमार्जित प्रस्ताव सरकारलाई बुझाइएको र माग कार्यान्वयनका लागि उपयुक्त समयमा समिति गठन गर्ने विषयमा मौखिक समझदारी भएको बताए।
सनातनीका अनुसार वार्तामा धार्मिक सद्भाव कायम राख्ने, मुलुकलाई द्वन्द्वबाट जोगाउने र संवादमार्फत विवाद समाधान गर्ने विषयमा पनि सहमति भएको छ। उनले हिन्दू राष्ट्रको अवधारणाले सबै धर्म र समुदायप्रति समान सम्मान गर्ने मान्यता राख्ने दाबी गर्दै धार्मिक विषयलाई लिएर राजनीतिक षड्यन्त्र हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे।
संगठनका अध्यक्ष राजेश यादवले धर्मका आधारमा आयोग गठन नगर्ने, मदरसा तथा मस्जिदमा हुने कोष परिचालन, धार्मिक स्थलमा प्रयोग हुने लाउडस्पिकरको व्यवस्थापनलगायत विषयमा पनि छलफल भएको बताए। उनका अनुसार गृहमन्त्रीले सबै धार्मिक समुदायको सुरक्षा सुनिश्चित गर्दै कुनै पनि धार्मिक गतिविधिमा अवरोध वा हिंसा हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।
सरकारी पक्षबाट माग सम्बोधनका लागि लिखित तथा मौखिक प्रतिबद्धता प्राप्त भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको संगठनले जनाएको छ।