काठमाडौँ। जातीय तथा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले शनिबार काठमाडौंमा सद्भाव र्याली निकालेका छन्।
तराईका विभिन्न जिल्लामा हालै देखिएको धार्मिक तथा सामुदायिक तनावको पृष्ठभूमिमा आयोजित र्यालीमार्फत सहभागीहरूले शान्ति, सामाजिक सद्भाव र आपसी मेलमिलाप कायम राख्न आग्रह गरेका हुन्।
गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई जनाको मृत्यु भएको थियो। त्यसपछि सिरहामा भएको विवादका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि तराईका केही जिल्लामा तनाव बढेको थियो। ती घटनापछि केही क्षेत्रमा निषेधाज्ञा जारी रहेकाले सामाजिक सद्भाव कायम गर्न सबै पक्ष संयमित हुनुपर्नेमा र्यालीका सहभागीले जोड दिएका छन्।
र्यालीमा सहभागीहरूले सबै जाति, धर्म र समुदायबीच आपसी सम्मान, भाइचारा र सहिष्णुता कायम राख्न आग्रह गरेका थिए।