जनकपुरधाम । सुनसरी र सिरहामा भएका घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै शनिबार जनकपुरधाममा प्रदर्शन गरिएको छ।
जनकपुरधाममा आयोजित सद्भाव र्याली सम्पन्न भएपछि युवाहरूको एक समूह स्वतःस्फूर्त रूपमा भेला भएर प्रदर्शनमा उत्रिएको हो। प्रदर्शनकारीले दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए।
उनीहरूले समाजमा शान्ति, सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य थप संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन्। साथै पीडितलाई न्याय सुनिश्चित गर्न र दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन प्रशासनसँग माग गरेका छन्।
प्रदर्शनकारीले शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन प्रभावकारी रूपमा कार्यान्वयन गर्न र घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउन पनि आग्रह गरेका छन्।