जनकपुरधाम। जनकपुरधाममा पछिल्लो समय विकसित तनावपूर्ण अवस्थाबीच सामाजिक सद्भाव र शान्तिको सन्देश दिन शनिबार वृहत् सद्भाव र्याली निकालिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा आयोजित र्याली रेल्वे स्टेसनबाट सुरु भई नगरका प्रमुख सडक र चोक परिक्रमा गर्दै सम्पन्न भएको थियो। सहभागीहरूले ‘सामाजिक एकता कायम गरौं’ र ‘शान्ति तथा सद्भाव कायम गरौं’ भन्ने नारा लगाएका थिए।
सुनसरीमा दुई समुदायबीच भएको झडपपछि विभिन्न स्थानमा बढेको संवेदनशीलतालाई मध्यनजर गर्दै र्याली आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
र्यालीमा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरकारी कर्मचारी, विभिन्न धर्मका अगुवा, नागरिक समाजका प्रतिनिधि, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारण सहभागी थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधामको पहिचान नै सामाजिक सद्भाव र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै ऐतिहासिक विरासत जोगाउनु सबैको साझा दायित्व भएको बताए।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले मिथिला संस्कृतिले सधैं शान्ति, सहिष्णुता र भाइचाराको सन्देश दिएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरे।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले लोकतान्त्रिक समाजमा असहमति र मागहरू संवाद र वार्तामार्फत शान्तिपूर्ण ढंगले अघि बढाउनुपर्ने बताए।