जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम आसपास लागू गरिएको कर्फ्यु आदेश हटाउँदै आज बिहान १० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जारी गरेको सूचनाअनुसार साउन १४ गते दिउँसो ३:३० बजेदेखि लागू गरिएको कर्फ्यु जिल्ला सुरक्षा समितिको निर्णयपछि शनिबार बिहान १० बजेदेखि हटाइएको हो।
यद्यपि, जिल्लाको शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिको भेला, सभा, जुलुस, प्रदर्शन तथा अन्य समूहगत गतिविधिमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकदेखि सिउरजोडा चोक हुँदै लक्ष्मीपुर बोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलदेखि ५०० मिटर पूर्व पेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा–मोहीनी–मनिमण्डप–नेपाल नर्सरी–इरकोन जनकपुर–दुहमती पुल–बेला–कादरी मस्जिद क्षेत्र समेटिएका छन्।
प्रशासनले निषेधाज्ञाको उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुनअनुसार नियन्त्रणमा लिएर कारबाही गरिने चेतावनी पनि दिएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सिरहाले पनि लहान नगरपालिकामा लागू गरिएको कर्फ्यु आदेश हटाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा सुरक्षा निकायसँगको समन्वयपछि आज बिहान १० बजेदेखि कर्फ्यु हटाइएको हो।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साउन १४ गतेदेखि लहान नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरिएको थियो। कर्फ्यु हटाइएपछि लहान क्षेत्रको जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा प्रशासनले गरेको छ।
धनुषा र सिरहा दुवै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न तथा प्रशासनले जारी गरेका आदेशहरूको पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।