सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १२ गतेदेखि जिल्लाका विभिन्न क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्युलाई आज बिहान ८ः३० बजेदेखि साँझ ५ बजेसम्मका लागि हटाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा उक्त अवधिसम्म कर्फ्यु स्थगित गरिएको उल्लेख गरिएको छ।
यद्यपि, शान्ति–सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निषेधाज्ञा भने यथावत् रहने प्रशासनले जनाएको छ। निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन वा जम्मा हुन नपाइने व्यवस्था कायम रहनेछ।
प्रशासनका अनुसार इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ मा पर्ने महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, साथै इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू रहनेछ।
