भक्तपुर- भक्तपुरस्थित भक्तपुर अस्पतालमा आईसीयू (सघन उपचार कक्ष) शय्या खाली हुँदाहुँदै बिरामी भर्ना नलिएको भन्दै बिरामीका आफन्तहरूले अस्पतालमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण गरेका छन्।
हालै मात्र सरकारले स्वास्थ्यकर्मी र अस्पतालमाथि हुने आक्रमण तथा तोडफोडका घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता र सहमति जनाइरहेकै सन्दर्भमा भक्तपुरमा भने पुनः स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण र तोडफोडको घटना दोहोरिएको हो।
काभ्रेको तिमाल गाउँपालिका–७ घर भई हाल सूर्यविनायक बस्दै आएका दमका ८२ वर्षीय बिरामीलाई बुधबार मध्यराति १२ बजेतिर अस्पताल पुर्याइएको थियो। ती बिरामी बुधबार बिहान मात्रै सोही अस्पतालको आईसीयूमा उपचार गराएर घर फर्किएका थिए। तर, राति पुनः स्वास्थ्यमा थप समस्या आएपछि आफन्तले उनलाई अस्पताल ल्याएका थिए।
अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झाका अनुसार बिरामीका आफन्तले जबरजस्ती आईसीयूमा भर्ना गर्न दबाब दिँदै ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धम्क्याउन र तर्साउन थालेका थिए।
अस्पतालमा १५ शय्याको आईसीयू कक्ष रहे पनि नर्सिङ जनशक्तिको अभावमा आधा मात्रै सञ्चालनमा छ। छात्रवृत्ति करारमा रहेका १५ जना नर्सहरूको म्याद सकिएपछि जनशक्ति अभावका कारण अस्पतालले ७/८ वटा मात्रै शय्या सञ्चालन गर्ने भन्दै पहिल्यै सूचना जारी गरिसकेको थियो।
बिरामी बुधबार बिहानसम्म सोही आईसीयूमा रहेकाले आफन्तले शय्या खाली भएको थाहा पाएर दबाब दिएका थिए। तर, उक्त आईसीयू ‘लेभल थ्री’ को रहेको र बिरामीको अवस्थाअनुसार भर्ना लिन नसकिने प्राविधिक कारण रहेको डा. झाले स्पष्ट पारे।
भर्ना लिन नसकिने बताएपछि आक्रोशित बनेका बिरामीका आफन्तले आकस्मिक र आईसीयू कक्षका सिसा तथा औषधिका बट्टा तोडफोड गरे। तोडफोडका क्रममा एक आफन्तले ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई मेडिकल उपकरण (फोर्सेप/कैँची) ले प्रहार गर्दा स्वास्थ्यकर्मीको हातमा चोट लागेको छ।
‘रातभर कहिले आईसीयू त कहिले इमर्जेन्सीमा गएर धम्काउने काम भयो। राति १२ बजे आएको केसमा बिहान ६ बजेसम्म लगातार ६ घण्टा तर्साइयो’, डा. झाले भने।
सुरुमा ५/६ जनाको सङ्ख्यामा रहेका बिरामी पक्ष बिहानसम्म १५/२० जना पुगेका थिए। सीसीटीभी फुटेजमा २५/३० वर्षका दुई जना महिला तोडफोडमा मुख्य रूपमा सक्रिय देखिएका छन्। राति नै प्रहरी टोली पुगे पनि महिला प्रहरी नहुँदा तत्काल नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ।
सम्झाइबुझाइ अन्यत्र रिफर, उजुरी दर्ता
रातभर तनाव उत्पन्न भएपछि बिरामीलाई बिहानसम्म आकस्मिक कक्षमै राखेर प्रारम्भिक उपचार गरियो। बिहान प्रमुख जिल्ला अधिकारी (सीडीओ), एसपी र अस्पताल विकास समितिका अध्यक्षसँगको समन्वयमा बिरामीलाई नेपाल कोरिया मैत्री अस्पतालमा रिफर गरिएको छ।
तोडफोड र आक्रमणमा संलग्नहरूलाई कानुनी कारबाहीको माग गर्दै अस्पताल प्रशासनले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ। प्रहरीले सीसीटीभी फुटेजका आधारमा आरोपीहरूलाई पक्राउ गर्ने तयारी थालेको छ।
भक्तपुर अस्पतालमा कार्डियोलोजिस्ट र न्युरो सर्जनजस्ता विशेषज्ञ चिकित्सक नहुँदा गम्भीर बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ। विशेषज्ञ जनशक्ति नै नभएको अवस्थामा अस्पतालले करिब १२ करोड रुपैयाँ लागतको रोबटिक मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो। तर, खरिद प्रक्रियामा बदमासी भएको समाचार सार्वजनिक भएपछि गत असारमा टेन्डर रद्द गरिएको थियो।
एकतर्फ विशेषज्ञ र जनशक्तिको अभाव, अर्कातर्फ सुरक्षाको प्रत्याभूति नहुँदा कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरू थप असुरक्षित बन्न पुगेका छन्।