काठमाडौं – स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार भण्डारीमाथि स्मार्ट सेलसँग सम्बन्धित अनियमितता प्रकरणमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियामा राज्यलाई आर्थिक हानी–नोक्सानी पुर्याएको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी रेखा शर्माको कार्यकालमा विज्ञका रूपमा मन्त्रीको सचिवालयमा कार्यरत थिए। पछि टेरामक्स प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि भण्डारी प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए।
मन्त्रीको सचिवालयमा कार्यरत रहेकै अवस्थामा उनी नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वमा पुगेका थिए।