काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित अर्थतन्त्रबाट स्वदेशी उत्पादनमार्फत आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने अभियानको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफलमा उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट गुम्दै गएको औद्योगिक अवसर पुनःस्थापित गर्नुपर्ने बताए। निजी क्षेत्रको लगानी सुरक्षित रहने, उचित प्रतिफल प्राप्त हुने र पुनः लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधार कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधार समयबद्ध रूपमा अघि बढाइने बताए। पुँजीगत खर्च बढाउने, आयोजना कार्यान्वयनलाई गति दिने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार तथा लगानीमैत्री वातावरण निर्माणका काम पनि समानान्तर रूपमा अघि बढिरहेको उनले बताए।
‘आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व अब उद्योग क्षेत्रले गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ।’
वाग्लेले निजी क्षेत्रमा देखिएका लगानीका अवरोध हटाउने प्रतिबद्धता दोहोर्याउँदै लगानी विस्तार, उत्पादन वृद्धि, नयाँ उद्योग स्थापना र रोजगारी सिर्जनामा केन्द्रित हुन उद्यमीलाई आग्रह गरे।