टोकियो । दक्षिणपश्चिमी जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ।
क्युशु टापु आसपास केन्द्रबिन्दु रहेको भूकम्पको कम्पन जापानको ‘शिन्डो’ स्केलमा उच्च स्तरमा महसुस गरिएको एजेन्सीले जनाएको छ। भूकम्पपछि करिब एक मिटर उचाइसम्मका सुनामीका छाल आउन सक्ने अनुमान गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सुनामीका छाल साँझ ५ बजेसम्म तटमा पुग्न सक्ने जनाइएको छ। जापानी सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार केही स्थानमा प्रारम्भिक सुनामीका छाल रेकर्ड भइसकेका हुन सक्छन्।
जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले विश्वकै सबैभन्दा बढी भूकम्प आउने देशमध्ये एक हो। चार प्रमुख टेक्टोनिक प्लेटको संगममा रहेको यस देशमा हरेक वर्ष सयौं भूकम्प जाने गर्छन्। विश्वभर हुने कुल भूकम्पमध्ये करिब १८ प्रतिशत जापान आसपासकै क्षेत्रमा हुने अनुमान गरिएको छ।
भूकम्पबाट हुने क्षति यसको केन्द्रबिन्दु, गहिराइ र प्रभावित क्षेत्रका आधारमा फरक–फरक हुने गर्छ। यसपटकको भूकम्पले सन् २०११ मा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीको सम्झना गराएको छ। उक्त विपत्तिमा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो।
यसअघि जुन २५ मा उत्तरी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस घटनामा ठूलो क्षति वा मानवीय हताहती भएको थिएन।
यस्तै, यस वर्ष अप्रिल २० मा पनि जापानको उत्तरी क्षेत्रमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा कम्तीमा १० जना घाइते भएका थिए भने राजधानी टोकियोसम्म ठूला भवनहरू हल्लिएका थिए। त्यसपछि जापानी अधिकारीहरूले भविष्यमा ८.० म्याग्निच्युड वा सोभन्दा ठूलो भूकम्पको जोखिमबारे विशेष सतर्कता अपनाउन सार्वजनिक चेतावनी जारी गरेका थिए।