काठमाडौँ – त्रिभुवन विश्वविद्यालय को स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र लीक प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमालका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई पक्राउ गरेको जनाएको छ।
यसअघि पनि यही प्रकरणमा दुई जना पक्राउ परिसकेका थिए। पछिल्ला दुई जनाको पक्राउसँगै प्रश्नपत्र लीक घटनामा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ।
एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र परीक्षा सञ्चालन हुनुअघि नै बाहिरिएको घटनापछि सीआईबीले अनुसन्धान तीव्र बनाएको थियो।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका चारै जनामाथि शिक्षा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।