काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप बदलिँदै गएको भन्दै त्यसविरुद्धको सचेतना अभियानलाई अझ व्यापक बनाउनुपर्ने बताएका छन्।
विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रविधिको विकाससँगै मानव बेचबिखन परम्परागत स्वरूपबाट बाहिर निस्केर सामाजिक सञ्जाल, मोबाइल र वैदेशिक रोजगारीको प्रलोभनमार्फत फैलिन थालेको बताए।
‘मानव बेचबिखन अब चेलीबेटीमा मात्र सीमित छैन,’ आचार्यले भने, ‘युवा र बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर बेचबिखन गर्ने प्रवृत्ति बढेकाले सचेतना अभियान पनि त्यहीअनुसार विस्तार गर्नुपर्छ।’
उनले आफूहरू लामो समयदेखि कला र सञ्चारमाध्यममार्फत मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउँदै आएको बताए। ‘रातु’, ‘छोरी’ र ‘टीकेको तीन मन्तर’ लगायतका टेलिचलचित्र तथा गीतमार्फत यस विषयमा निरन्तर सन्देश दिँदै आएको उनले स्मरण गरे।
आचार्यले सामाजिक सञ्जाल र मोबाइल प्रविधिको दुरुपयोगले मानव तस्करलाई सर्वसाधारणसम्म पुग्न सहज बनाएको उल्लेख गरे। देशभित्र रोजगारीको अभाव र राजनीतिक अस्थिरताका कारण युवाहरू विदेशिन बाध्य भइरहेका बेला त्यसैको फाइदा उठाएर मानव तस्करले झुटा सपना बाँड्ने गरेको उनले बताए।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता घटनाले राजनीतिक नेतृत्वप्रतिको जनविश्वास कमजोर बनाएको टिप्पणी गर्दै यस्ता अपराध रोक्न नयाँ राजनीतिक संस्कार र सुशासन आवश्यक रहेको बताए।
आचार्यले कलाकारले सामाजिक उत्तरदायित्वबाट पछि हट्न नहुने उल्लेख गर्दै आगामी दिनमा पनि अडियो–भिजुअल सामग्रीमार्फत मानव बेचबिखनविरुद्धको सचेतना अभियानलाई निरन्तरता दिने बताए। साइबर माध्यमबाट हुने अपराध बढिरहेका बेला त्यसको नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि उनले सम्बन्धित निकायलाई आग्रह गरे।