काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा १६ खर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य पूरा गर्न राजश्व प्रशासनलाई ‘मिसन मोड’मा काम गर्न निर्देशन दिएका छन्। लक्ष्य, मापदण्ड र समयसीमा स्पष्ट गरेर परिणाममुखी ढंगले अघि बढ्न उनले कर्मचारीहरूलाई आग्रह गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै वाग्लेले नीति तथा कार्यक्रम र बजेटमै समेटिएको ‘मिसन मोड’को अवधारणालाई राजश्व प्रशासनबाटै सफल बनाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘हाम्रो मिसन १६ खर्ब स्पष्ट लक्ष्य हो । मिसन भन्नुको अर्थ लक्ष्य, सफलता–असफलताको मापदण्ड र समयसीमा तीनै कुरा स्पष्ट हुनु हो । यी तीनलाई अर्जुनदृष्टिका साथ कार्यान्वयन गर्न सक्यौँ भने सफलता हासिल गर्न सकिन्छ ।’
मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उपभोगको क्रमसँग तुलना गर्दा राजश्व संकलन अपेक्षाअनुसार हुन नसकेको उल्लेख गर्दै उनले राजश्व चुहावट नियन्त्रण र करको दायरा विस्तारमा केन्द्रित हुन निर्देशन दिए। सहरी क्षेत्रमा आर्थिक गतिविधि विस्तार भए पनि त्यसअनुसार राजश्व नबढेको भन्दै सुधारका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले आग्रह गरे।
कर्मचारीहरूलाई ‘कम्फर्ट जोन’बाट बाहिर निस्केर काम गर्न निर्देशन दिँदै वाग्लेले लक्ष्य नजिक पुगेपछि निष्क्रिय हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। भ्रष्टाचार र अनियमितताप्रति ‘जिरो टलरेन्स’को नीति अवलम्बन गरिने स्पष्ट पार्दै उनले उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत र अनियमिततामा संलग्नलाई कारबाही गरिने चेतावनी दिए।
करदातासँगको सम्बन्ध थप सुमधुर बनाउनुपर्नेमा जोड दिँदै उनले तर्साउनेभन्दा उत्प्रेरित गर्ने नीति अपनाउन निर्देशन दिए। ठूला करदातालाई सम्मान गर्ने नयाँ कार्यक्रम ल्याइने जानकारी दिँदै उनले कर अनुपालन बढाउन करदातालाई निश्चित समय दिएर जिम्मेवार बनाइने बताए।
साउन महिनादेखि नै राजश्व संकलनमा सुधारको संकेत देखिनुपर्ने उल्लेख गर्दै उनले चाडपर्वअघि सकारात्मक लय समात्न सके त्यसले वर्षभरिको राजश्व परिचालनमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे।
निजी क्षेत्रका वास्तविक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले उत्पादनमूलक उद्योगीका कर तथा भन्सारसम्बन्धी समस्या प्रत्यक्ष छलफलमार्फत समाधान गरिने तथा वन र उद्योग मन्त्रालयसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गरिने बताए।