काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा ठूलो संख्यामा सल्लाहकार राख्ने प्रवृत्तिप्रति कटाक्ष गरेका छन्। राज्यको ढुकुटीमा अनावश्यक व्ययभार थपिने गरी हुने राजनीतिक नियुक्ति उपयुक्त नभएको संकेत गर्दै उनले आफूले भने केवल एकजना अवैतनिक राजश्व सल्लाहकार मात्रै राखेको बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै वाग्लेले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको प्रसंग उल्लेख गरे। त्यसको तुलना गर्दै उनले राजश्व प्रशासनलाई प्राथमिकतामा राखेर आफूले एकजना अवैतनिक सल्लाहकार मात्रै नियुक्त गरेको बताए।
उनले भने, ‘तपाईंहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ । तर मैले केवल एकजना अवैतनिक राजश्व सल्लाहकार मात्र राखेको छु । भनेपछि यो राजश्वको विषयलाई मैले कति महत्व दिएको छु भन्ने कुरा यहाँहरूले बुझ्नुहोला।’
वाग्लेको अभिव्यक्तिलाई सरकारी निकायमा बढ्दो राजनीतिक नियुक्ति, सल्लाहकारको संख्या र त्यसबाट बढ्ने प्रशासनिक खर्चप्रतिको असन्तुष्टिका रूपमा हेरिएको छ। राजश्व समीक्षा बैठकमा राजश्व संकलनको अवस्था, चुनौती र आगामी रणनीतिबारे छलफल भइरहेका बेला उनको उक्त टिप्पणीले भने राजनीतिक वृत्तमा पनि चर्चा पाएको छ।