काठमाडौं । सहकारी पीडित बचतकर्ताहरूले आफ्ना मागहरू सम्बोधन गर्न दबाब दिँदै सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको संयोजकत्वमा आयोजित प्रदर्शनमा सहभागीहरू माइतीघर–बबरमहल सडकखण्डमा प्लेकार्डसहित उत्रिएका थिए।
प्रदर्शनका क्रममा उनीहरूले ‘जग्गा मिलानका नाममा पीडित बचतकर्तामाथि हुने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्तालाई न्याय देऊ’, ‘ए सरकार, कि त मारिदेऊ, कि त खोला तारीदेऊ’ र ‘सहकारी पीडित बचतकर्ता एक होऔँ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
पीडितहरूले आफ्नो बचत रकम फिर्ता गराउन, दोषीमाथि कारबाही गर्न र सरकारले प्रभावकारी रूपमा न्याय सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेको अभियानले जनाएको छ।