काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि गाउँपालिकाले दुई दिन सार्वजनिक शोक बिदा घोषणा गरेको छ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज बजारमा दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। घटनामा प्रहरीसहित २२ जना घाइते भएका छन्।
घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार र मङ्गलबार दुई दिन शोक बिदा दिने निर्णय गरेको जनाएको छ।
प्रहरीको गोली लागेर घाइते भएका देवानगञ्ज–३ कप्तानगञ्ज निवासी ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो।
यस घटनाको छानबिनका लागि गृह मन्त्रालयले सोमबार पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। उता, घटनाको विरोधमा स्थानीयवासीले कर्फ्यु आदेश उल्लंघन गर्दै सोमबार प्रदर्शनसमेत गरेका छन्।
