काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) की कोषाध्यक्ष सुजिता माथेमाले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’मा परेको विषयलाई चेतावनीका रूपमा मात्र नभई वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्ने बताएकी छन्।
आइतबार एआइएनले आयोजना गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले वित्तीय सुशासन कुनै एक संस्था वा निकायको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व भएको बताइन्।
नेपालका लागि अहिलेको समय वित्तीय पारदर्शिताका दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै माथेमाले ग्रे लिस्टिङलाई वित्तीय प्रणाली सुधार्ने, कानुन र अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप परिमार्जन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन्।
‘धेरैले ग्रे लिस्टलाई केवल एउटा अन्तर्राष्ट्रिय सूचीका रूपमा हेर्ने गरेका छन्,’ उनले भनिन्, ‘तर यसलाई चेतावनीका रूपमा मात्र होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छ।’
ग्रे लिस्टिङको प्रभाव विदेशी लगानी, अन्तर्राष्ट्रिय व्यापार तथा बैंकिङ कारोबार, रेमिट्यान्स, विकास साझेदारी र नेपालको अन्तर्राष्ट्रिय छविसम्म पर्ने उल्लेख गर्दै उनले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (एएमएल/सीएफटी) लाई केवल प्राविधिक वा कानुनी विषयका रूपमा हेर्न नहुने बताइन्। उनका अनुसार यो आर्थिक स्थायित्व, सुशासन, लगानीकर्ताको विश्वास र राष्ट्रिय प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो।
कार्यक्रममा सरकारका प्रतिनिधि तथा प्राविधिक विज्ञहरूले सम्पत्ति शुद्धीकरण, आतङ्ककारी क्रियाकलाप तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी दिएका थिए।
नेपाल सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को पाँचौं संशोधनमार्फत गैरनाफामूलक क्षेत्रलाई कानुनी दायरामा समेटेपछि एआइएनले आफ्ना सदस्य संस्थाका कार्यकारी प्रमुख तथा विभागीय प्रमुखका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। एआइएनका अनुसार कार्यक्रमको उद्देश्य सदस्य संस्थालाई सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था, दायित्व र नियामकीय प्रक्रियाबारे स्पष्ट जानकारी गराउनु हो।