तेहरान – इरानले रणनीतिक महत्वको ‘स्ट्रेट अफ होर्मुज’को व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषयमा ओमानसँग भएको वार्तामा सकारात्मक प्रगति भएको जनाएको छ। विश्वव्यापी तेल तथा ग्यास व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने यो जलमार्ग इरान र ओमानको जलक्षेत्रसँग जोडिएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीका अनुसार शुक्रबार र शनिबार तेहरानमा इरान र ओमानका उपविदेशमन्त्रीबीच वार्ताका विभिन्न चरण सम्पन्न भएका छन्। उनले दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै ‘स्ट्रेट अफ होर्मुज’बाट जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने साझा सिद्धान्त र सञ्चालन संयन्त्र निर्माणमा छलफल केन्द्रित भएको बताए।
बाकायीले वार्तालाई उपयोगी र उपलब्धिमूलक भएको उल्लेख गर्दै प्राविधिक र राजनीतिक तहमा संवाद निरन्तर जारी रहने जानकारी दिए। यसअघि जुन महिनामा इरान र ओमानले ‘स्ट्रेट अफ होर्मुज’ हुँदै आवतजावत गर्ने जहाजमा सेवा शुल्क लगाउने सम्भावनाबारे छलफल गर्ने बताएका थिए, जसको अमेरिकाले विरोध गरेको थियो।
ओमानले आफ्नो जलक्षेत्र प्रयोग गरेर जहाजलाई ‘स्ट्रेट अफ होर्मुज’ पार गराउन सकिने संकेत दिएपछि इरानले असन्तुष्टि जनाएको थियो। त्यसपछि तेहरानले जलमार्गमा तनाव बढाउने केही कदम चालेको थियो।
यसैबीच, इरानले पछिल्लो समय अमेरिकाबाट कुनै नयाँ सैन्य आक्रमण नभएको जनाएको छ। इरानी अधिकारीका अनुसार अमेरिकी आक्रमणको करिब दुई सातापछि पनि थप आक्रमण भएको छैन।
समाचार वेबसाइट एक्सियोसका अनुसार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष लगातार १४औँ रात इरानमाथि आक्रमण गर्ने योजना प्रस्तुत गरेको थियो। तर ट्रम्पले सैन्य कारबाहीभन्दा वार्तालाई प्राथमिकता दिँदै उक्त योजना स्वीकृत नगरेको जनाइएको छ।
प्रतिवेदनअनुसार ‘स्ट्रेट अफ होर्मुज’ पुनः सञ्चालनका लागि नयाँ व्यवस्थाबारे छलफल गर्न ओमानी प्रतिनिधिमण्डल तेहरान पुगेपछि ट्रम्पले आक्रमण रोक्ने निर्णय गरेका थिए।
‘स्ट्रेट अफ होर्मुज’मा हाल जहाजहरूको आवतजावतको अवस्थाबारे सोधिएको प्रश्नमा प्रवक्ता बाकायीले अहिलेको अवस्थामा कुनै परिवर्तन नभएको बताएका छन्।