काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक तारकेश्वर–९ शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी साउन ८ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो पार्किङ गरिएको कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर घटनाबारे विस्तृत अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार मृत्युको कारण र घटनाको वास्तविक प्रकृतिबारे हालसम्म यकिन हुन नसकेको तथा सबै सम्भावित कोणबाट अनुसन्धान भइरहेको छ। शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।