विराटनगर – आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले उक्त अवधिमा रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि लक्ष्यको तुलनामा रु १ अर्ब ७९ करोड ७५ लाख ४४ हजार कम राजस्व उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए।
उनका अनुसार कार्यालयले वार्षिक लक्ष्यको ८५.१५ प्रतिशत प्रगति हासिल गरेको छ।
सङ्कलित राजस्वमध्ये आयकरबाट रु ४ अर्ब ७ करोड २५ लाख ४१ हजार, बहाल आयकरबाट रु ८ करोड ८ लाख ५५ हजार, ब्याज करबाट रु ३८ करोड १३ लाख १ हजार, **मूल्य अभिवृद्धि कर (भ्याट)**बाट रु २ अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्तःशुल्कबाट रु ३ अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा करबाट रु ८४ हजार तथा अन्य करबाट रु ५ करोड ८ लाख ३२ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु ९ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिए पनि रु ८ अर्ब ९३ करोड मात्र सङ्कलन भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा रु १० अर्ब ७२ करोड लक्ष्य रहेकामा रु ९ अर्ब ६१ करोड राजस्व उठेको थियो।
राजस्व वृद्धिदर भने पछिल्ला तीन आर्थिक वर्षमा क्रमशः घट्दो देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ८.७७ प्रतिशत, २०८१/८२ मा ७.६१ प्रतिशत र २०८२/८३ मा ७.२८ प्रतिशत राजस्व वृद्धि भएको प्रमुख उप्रेतीले बताए।
हाल आन्तरिक राजस्व कार्यालय विराटनगरमा ६० हजार ६७५ करदाता आबद्ध रहेका छन्।