काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सीमा सुरक्षालाई थप सुदृढ बनाउन स्थानीय नागरिक, सुरक्षा तथा प्रशासनिक निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय र सहकार्य भइरहेको बताए । सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन उत्तर र दक्षिण दुवैतर्फका समकक्षी सुरक्षा निकायसँगको सहकार्यलाई पनि थप सुदृढ बनाइने उनले जानकारी दिए ।
महानिरीक्षक पौडेलका अनुसार सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन छिमेकी मुलुकका समकक्षी सुरक्षा निकायसँगको समन्वयलाई थप मजबुत बनाइनेछ । स्थानीय तह, समुदाय र सम्बन्धित निकायसँगको सहकार्यलाई समेत निरन्तर विस्तार गर्दै सीमा व्यवस्थापनलाई परिणाममुखी बनाउने दिशामा सशस्त्र प्रहरी अघि बढिरहेको उनले बताए ।
‘सशस्त्र प्रहरी बल सीमा क्षेत्रका नागरिक, स्थानीय समुदाय, सुरक्षा तथा प्रशासनिक निकाय तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने प्रतिवद्धताका साथ काम गरिरहेको छ,’ उनले भने, ‘उत्तर र दक्षिण दुवैतर्फका समकक्ष सुरक्षा निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाएर दुई देशबीचको समन्वयमार्फत सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाइनेछ ।’
पौडेलले सशस्त्र प्रहरीले हालसम्म सीमा सुरक्षा, नागरिकको जिउधनको रक्षा तथा शान्ति–सुव्यवस्था कायम गर्न विभिन्न सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे । आगामी दिनमा पनि प्रचलित कानुन, उपलब्ध स्रोत–साधन र संस्थागत क्षमताको अधिकतम उपयोग गर्दै सीमा सुरक्षा, शान्ति–सुव्यवस्था तथा समग्र सीमा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने दिशामा संगठन सक्रिय रहने उनले बताए ।