काठमाडौं ।स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्म स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
बोर्डका अनुसार अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको पुससम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीहरूको रकम सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरिएको हो।
चालु आर्थिक वर्षको असोज, कात्तिक र मंसिर महिनासम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनामा स्वीकृत भएका दाबीबापत मात्रै २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको बोर्डले जनाएको छ।
यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत सबै दाबीहरूको भुक्तानी प्रक्रिया पूरा भएको बोर्डको भनाइ छ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अघि बढाइरहेको जनाएको छ।