धनगढी। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि आफ्नो २४ औँ आमरण अनसन (सत्याग्रह) सुरु गरेका छन्।
डा. अमृत जैशीका अनुसार डा. केसीले बिहीबार दिउँसो ३ बजेदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनसन सुरु गरेका हुन्।
सत्याग्रह सुरु गर्नुअघि सुदूरपश्चिमका राजनीतिक दल, विद्यार्थी सङ्गठन, नागरिक अगुवा तथा स्थानीयहरूले डा. केसीलाई अनसन स्थगित गर्न आग्रह गरेका थिए। गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला यो आन्दोलनले विश्वविद्यालय सञ्चालन प्रक्रिया प्रभावित हुन सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका थिए।
विगतका सहमतिको कार्यान्वयन: सरकारले डा. केसीसँग विभिन्न समयमा गरेका पुराना सहमतिहरू तत्काल लागू गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुनविपरीत गरिएका नियुक्तिहरू सच्याउनुपर्ने केसीका माग छन्।
स्थानीयस्तरबाट आन्दोलन रोक्न व्यापक आग्रह गरिए पनि आफ्ना मागहरूप्रति सरकार गम्भीर नभएको भन्दै डा. केसी पुनः सत्याग्रहमा बसेका हुन्।