काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुला गरिएको छ । यस संस्करणदेखि प्रतियोगितामा ‘मिसेस नेपाल कस्मो’ विधा पनि थपिएको छ ।
आयोजक रिबन इन्टरटेनमेन्टले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी साउन २३ गतेदेखि छनोट प्रक्रिया सुरु हुने जनाएको छ । सन् २०१४ देखि आयोजना हुँदै आएको प्रतियोगितामा यस वर्ष ‘मिसेस कस्मो म्यानमार’ को आधिकारिक नेपाली फ्रेन्चाइजअन्तर्गत ‘मिसेस नेपाल कस्मो’ विधा समावेश गरिएको आयोजकले जनाएको छ ।
रिबन इन्टरटेनमेन्टका अध्यक्ष तथा पेजेन्ट डाइरेक्टर निशुकान्त झाले पहिलो चरणको अडिसन साउन २३ गते दिउँसो १२ः३० बजे नयाँ बानेश्वरस्थित आर्य इन्टरनेसनल होटलमा हुने बताए । ग्रान्ड फिनाले कात्तिक १४ गते आयोजना हुनेछ ।
२१ देखि ५० वर्ष उमेर समूहका विवाहित नेपाली महिलाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । सम्बन्धविच्छेद भएका र एकल महिलाले पनि प्रतिस्पर्धा गर्न पाउनेछन् । सहभागीका लागि उचाइ र तौलको कुनै मापदण्ड तोकिएको छैन । इच्छुक प्रतिस्पर्धीले ‘खल्ती’ एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।
राष्ट्रिय निर्देशक तथा कोरियोग्राफर अश्विनीकान्त झाले विवाहपछि पनि महिलाहरूका सपना र सम्भावना नरोकिने उल्लेख गर्दै प्रतियोगिताले उनीहरूलाई नयाँ पहिचान स्थापित गर्ने अवसर प्रदान गर्ने बताए । उनका अनुसार छनोट भएका प्रतिस्पर्धीलाई ४५ दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट विशेष प्रशिक्षण दिइनेछ ।
कार्यक्रममा ‘मिसेस नेपाल वर्ल्ड २०२५’ की विजेता रक्षा पन्त र ‘मिसेस नेपाल इन्टरनेसनल २०२५’ की विजेता सञ्जु भट्टले प्रतियोगिताले आत्मविश्वास र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको अनुभव सुनाए ।
आयोजकका अनुसार काठमाडौंसँगै पोखरा, इटहरी र विराटनगरमा पनि अडिसन सञ्चालन गरिनेछ । मुख्य विजेताले ‘मिसेस नेपाल वर्ल्ड’ को उपाधिसँगै अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । अन्य विजेताले ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘मिसेस नेपाल कस्मो’ उपाधिसहित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।