ब्राउनाउ आम इन (अस्ट्रिया) -अस्ट्रियाको ब्राउनाउ आम इन सहरमा रहेको नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई अब प्रहरी कार्यालयका रूपमा प्रयोग गर्न थालिएको छ। चरम दक्षिणपन्थी समूहहरूले उक्त भवनलाई तीर्थस्थलका रूपमा प्रयोग गर्न सक्ने जोखिम रोक्ने उद्देश्यले सरकारले लामो विवाद र कानुनी प्रक्रियापछि भवनको पुनःनिर्माण गरी बुधबारदेखि प्रहरी कार्यालय सञ्चालनमा ल्याएको हो।
अस्ट्रियाली अधिकारीहरूले भवनलाई प्रहरी कार्यालय बनाउने निर्णयले यसलाई नाजी विचारधाराको प्रतीक बन्नबाट रोक्ने बताएका छन्। साथै, दशकौँदेखि चलिरहेको ‘यस भवनको भविष्य के हुने?’ भन्ने बहसको पनि अन्त्य हुने अपेक्षा गरिएको छ।
जर्मन सीमासँग नजिक रहेको ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको यो भवन १७औँ शताब्दीमा निर्माण भएको हो। यही घरमा एडोल्फ हिटलरको जन्म सन् १८८९ अप्रिल २० मा भएको थियो। करिब दुई करोड युरो खर्चमा गरिएको पुनःनिर्माण निर्धारित समयभन्दा तीन वर्ष ढिलो सम्पन्न भएको हो।
पुनःनिर्माणपछि भवनको स्वरूपमा ठूलो परिवर्तन गरिएको छ। पहिले पहेँलो रङको रहेको भवनलाई सेतो रङ लगाइएको छ भने मुख्य प्रवेशद्वारमा प्रहरी कार्यालयको चिह्न राखिएको छ। भवनबाहिर रहेको स्मारक शिलालेख भने यथावत् राखिएको छ, जसमा ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि, फेरि कहिल्यै फासीवाद होइन’ भन्ने सन्देश लेखिएको छ।
सन् १९३८ मा नाजी जर्मनीले अस्ट्रियालाई गाभेपछि करिब ६५ हजार अस्ट्रियाली यहुदीको हत्या गरिएको थियो भने एक लाख ३० हजारभन्दा बढी मानिसलाई देशबाट निष्कासन गरिएको थियो। यद्यपि, होलोकास्टप्रतिको ऐतिहासिक जिम्मेवारी पूर्ण रूपमा स्वीकार नगरेको भन्दै अस्ट्रिया विगतमा आलोचनामा पर्दै आएको छ।
यो भवन सन् १९१२ देखि एउटै परिवारको स्वामित्वमा थियो। सन् १९७२ देखि अस्ट्रियाली सरकारले यसलाई भाडामा लिएर अपाङ्गता भएका व्यक्तिहरूका लागि सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो। अन्तिम निजी मालिक गेर्लिन्डे पोमरले भवनको प्रयोग परिवर्तन गर्ने सरकारी योजनाहरूको लामो समयसम्म विरोध गरेकी थिइन्।
सन् २०१६ मा अस्ट्रियाली संसद्ले विशेष कानुन बनाएर भवन अधिग्रहण गर्ने निर्णय गरेको थियो। त्यसपछि सर्वोच्च अदालतले करिब आठ लाख १० हजार युरोमा सरकारले भवन खरिद गर्ने निर्णयलाई अनुमोदन गरेको थियो।
भवन भत्काउने, संग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विषयमा लामो बहस भए पनि इतिहासविद्हरूले यसलाई ध्वस्त पार्नु उपयुक्त नहुने बताएका थिए। अन्ततः विशेषज्ञ आयोगको सुझावअनुसार भवनलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो।
सरकारले स्थायी प्रहरी उपस्थितिले नाजी विचारधाराप्रति अस्ट्रियाको असहिष्णुता स्पष्ट पार्ने र भवनलाई राजनीतिक रूपमा तटस्थ स्थानका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।
तर यातना शिविरबाट बाँचेका व्यक्तिहरूको संस्था मौथाउसेन कमिटी अस्ट्रियाका प्रवक्ता रोबर्ट इटरले भने केवल भवनको स्वरूप परिवर्तन गर्दैमा नव–नाजी समर्थकहरूको आकर्षण समाप्त नहुने बताएका छन्। उनका अनुसार इतिहासकै सबैभन्दा कुख्यात तानाशाहमध्ये एकको जन्मस्थल भएकाले यसको ऐतिहासिक महत्व पूर्ण रूपमा हटाउन सम्भव छैन।