गण्डकी -अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ। आर्थिक वर्ष २०८२।८३ मा उक्त मार्गमा भ्रमणका लागि निस्किएका १२ जना नेपाली, नौ जना भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक एक जना गरी २५ जनाको लेक लागेर मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार मुस्ताङमा १५, मनाङमा आठ, अन्नपूर्ण आधार शिविरमा एक र मर्दी हिमालमा एक जनाको मृत्यु भएको हो। मृत्यु भएका नेपालीमध्ये चार जना पथप्रदर्शक र भरिया रहेका छन्।
पदयात्राका क्रममा लडेर तथा अन्य दुर्घटनाका कारण सोही अवधिमा पाँच जना पर्यटकले पनि ज्यान गुमाएका छन्। भारतीय पर्यटकको मनाङमा पदयात्राका क्रममा भारी हिमपात हुँदा मृत्यु भएको थियो। एक जना अष्ट्रेलियन पर्यटकको मनाङको हिमलुङ हिमाल चढेर फर्कने क्रममा ज्यान गएको हो। मर्दी हिमालको पदयात्राका क्रममा एक जना नेपाली पदयात्री र जर्मनीका एक नागरिकको म्याग्दीको खोप्रा लेकमा पदयात्राका क्रममा मृत्यु भएको थियो।
लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा बढी हुने गरेका छन्। आर्थिक वर्ष २०८०र८१ मा २१ जना र आर्थिक वर्ष २०८१र८२ मा १९ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो।
सडकमार्ग हुँदै मुक्तिनाथ दर्शनका लागि जाने नेपाली तथा भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको आयोजना प्रमुख डा। कडरियाले बताए।
‘हिमाली तथा उच्च पहाडी भेगको यात्रामा जाँदा एकैपटक धेरै उचाइमा पुग्नु हुँदैन, विश्राम लिँदै जानुपर्छ,’ उनले भने, ‘लेक लागेको लक्षण अनुभव भएमा तत्काल कम उचाइ भएको ठाउँमा फर्किहाल्नुपर्छ।’
पदयात्राका क्रममा लडेर मृत्यु हुने घटना पनि बर्सेनि दोहोरिने गरेका छन्। लामो दूरीको पदयात्रामा निस्कँदा एक्लै नगई समूहमा वा पथप्रदर्शक लिएर जानुपर्ने सुझाव दिइएको छ।
कम उचाइ भएको स्थानबाट सवारीसाधनमार्फत एकैपटक मुक्तिनाथलगायत उच्च भेगमा पुग्दा लेक लाग्ने समस्या देखिने गरेको छ। स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक दिवस गुरुङले बताए।
उनले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा ५०० मिटरभन्दा बढी उचाइ पार नगर्न पनि सुझाव दिएका छन्।