पोखरा ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने उच्च हिमाली क्षेत्रमा लेक (उच्च हिमाली रोग) लागेर एकै आर्थिक वर्षमा २५ जनाको मृत्यु भएको छ। एक्याप कार्यालय पोखराका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अधिकांश मृत्यु मुस्ताङ जिल्लामा भएका हुन्। यस अवधिमा विभिन्न दुर्घटनामा थप ५ जनाले पनि ज्यान गुमाएका छन्।
एक्यापका निर्देशक डा. रविन कडरियाका अनुसार मुस्ताङमा मात्रै लेक लागेर १५ जनाको मृत्यु भएको छ। मुक्तिनाथ क्षेत्रमा ८ भारतीय र ४ नेपाली, दामोदर कुण्डमा १ नेपाली, लोमान्थाङमा १ नेपाली तथा टुकुचेमा १ मेक्सिकन नागरिकको मृत्यु भएको हो।
मनाङमा लेकका कारण ८ जनाले ज्यान गुमाएका छन्। नार–फु क्षेत्रमा ३ नेपाली भरिया/गाइडको मृत्यु भएको छ भने अन्नपूर्ण चक्रपथमा १ नेपाली गाइड, १ नेपाली पर्यटक, १ भारतीय, १ जापानी र १ सिंगापुरका नागरिकको मृत्यु भएको विवरण एक्यापले दिएको छ।
यसैगरी, गत वर्ष मार्दी हिमाल क्षेत्रमा १ स्पेनी नागरिक तथा अन्नपूर्ण आधार शिविर (एबीसी) जाने क्रममा १ नेपाली नागरिकको पनि लेक लागेर मृत्यु भएको थियो।
लेकका घटनाबाहेक पदयात्रा र हिमाली आरोहणका क्रममा भएका दुर्घटनाले पनि ज्यान लिएको छ। भारी हिमपातका कारण मनाङमा बेपत्ता भएका २ भारतीय पर्यटक पछि मृत अवस्थामा फेला परेका थिए। हिमलुङ हिमालमा लडेर १ अस्ट्रेलियाली पर्वतारोहीको मृत्यु भएको थियो। मार्दी हिमाल पदमार्गमा हराएका १ नेपाली पदयात्री मृत फेला परेका थिए भने खोप्रा पदमार्गमा लडेर १ जर्मन पदयात्रीको ज्यान गएको डा. कडरियाले जानकारी दिए।
उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा पर्याप्त पूर्वतयारी गर्नुपर्नेमा जोड दिँदै डा. कडरियाले लेकबाट बच्न सावधानी अपनाउन सबै पर्यटकलाई आग्रह गरेका छन्। “उचाइमा यात्रा गर्नु आफैँमा जोखिमपूर्ण हुन्छ। त्यसैले बिस्तारै उक्लिनुपर्छ, पर्याप्त आराम गर्नुपर्छ र लेकका लक्षण देखिएमा तत्काल तल्लो स्थानतर्फ झर्नुपर्छ,” उनले भने।
उनका अनुसार पर्यटकलाई सचेत गराउन विभिन्न स्थानमा सूचना बोर्ड राखिनुका साथै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ।