चितवन -जिल्लामा गत एक वर्षमा भएका सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा ५४५ दुर्घटना भएका थिए। अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको संख्या घटेको छ।
ती दुर्घटनामा परी ९९९ जना घाइते भएका छन्। यस अवधिमा पूर्व पश्चिम लोकमार्गमा १३७ सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २१४ जना घाइते भएका छन्। यस्तै नारायणगढ-मुग्लिन सडकखण्डमा भएका ४८ दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १८० जना घाइते भएका थिए। पृथ्वी राजमार्गअन्तर्गत २२ सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो। ६२ जना घाइते भएका थिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार सहरी सडकखण्डमा ५५ दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो। सो दुर्घटनामा ७३ घाइते भएका थिए। अन्य भित्री सडकमा २८३ दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो भने ४७० घाइते भएका थिए। गत आवमा ९७ गम्भीर घाइते र ९०२ जना सामान्य घाइते भएको उनले बताए।
आव २०८१/०८२ मा जिल्लाका विभिन्न सडकमा भएको सवारी दुर्घटनामा १२० जनाको ज्यान गएको थियो। सवारी दुर्घटना पनि कमी आएको छ। सो आवमा एक हजार ५० वटा दुर्घटनामा परी एक हजार ८७७ जना घाइते भएका थिए। यसमध्ये १७२ जना गम्भीर घाइते भएका थिए। गत आवमा भएका दुर्घटनामध्ये तीव्र गतिका कारण धेरै भएको पाइएको छ। कार्यालयको तथ्यांकअनुसार ३८ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको छ भने २२ प्रतिशत दुर्घटना चालकको लापरवाहीका कारण देखिन्छ। यस्तै १७ प्रतिशत (रोड युजर) बाटोका कारणले भएको उनले बताए।
जिल्लामा भएका दुर्घटनामा बढी संख्यामा दुई पाङ्ग्रे सवारीसाधन परेका छन्। दुई पाङ्ग्रे सवारीसाधनबाट दुर्घटना हुँदा ५२ जनाको मृत्यु भएको छ। अठार जना पैदलयात्रीको सवारीले ठक्कर दिएर मृत्यु भएको छ। यस्तै जीप, कारको ठक्करबाट आठ जना, टेम्पो दुर्घटनाबाट आठ जना, शारीरिक शक्तिबाट चल्ने सात वटा, बस दुर्घटनामा पाँच जना, ट्रक, ट्यांकर दुर्घटनाबाट तीन, माइक्रो दुर्घटनाबाट एक र पहिचान नखुलेका सवारीसाधनबाट तीन जनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
कार्यालयको तथ्यांकअनुसार गत आवमा तीव्र गतिका कारण २०९ दुर्घटना भएको छ। चालकको लापरवाहीले १२१ दुर्घटना भएका छन्। यस्तै यात्रुका कारण ९७, मादक पदार्थ सेवन गरेर ३५, ‘ओभरटेक’ गर्ने क्रममा २८, सडकका कारण ३५, यान्त्रिक समस्याका कारण आठ, मौसमका कारण छ, पशुचौपायका कारण तीन र अन्य कारणले तीन सवारी दुर्घटना भएको छ। प्रमुख थापाका अनुसार जिल्लामा भएका दुर्घटना साँझ र रातको समयमा बढी भएको छ। गत आवमा साँझ ६ बजेदेखि राति १२ बजेसम्मको समयमा २१४ वटा दुर्घटना भएको छ। यस्तै दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म १५६, बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म १२४ र राति १२ बजेपछि ६ बजेसम्म ५१ वटा दुर्घटना भएका छन्।
कार्यालयले एक वर्षमा १० हजार ८० सवारी चालकलाई कारबाही गरेको छ। यसमध्ये एक हजार ३७९ जना मादक पदार्थ सेवन गरेका र एक सय जना लागुऔषध सेवन गरेका हुन्। अन्य ट्राफिक नियम पालना नगर्नेहरू रहेका छन्। उनीहरूबाट रु एक करोड ७५ लाख ७७ हजार ५०३ राजस्व संकलन गरिएको छ। रासस