चितवन – दाह्रा काटिएपछि जंगली हात्ती ‘ध्रुवे’ अहिले चितवन राष्ट्रिय निकुञ्जभित्रै बसिरहेको छ। निकुञ्ज प्रशासनका अनुसार ध्रुवेको गतिविधिमाथि आधुनिक रेडियो कलरमार्फत निरन्तर निगरानी भइरहेको छ।
ध्रुवेले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएपछि निकुञ्जले असार ३१ गते राति सुखीभार पोस्ट नजिक डार्ट गरी उसका दुवै दाह्रा काटेको थियो। त्यससँगै ध्रुवेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ, जसबाट प्रत्येक १० मिनेटमा उसको अवस्थिति र गतिविधिसम्बन्धी सूचना संकलन भइरहेको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार दुई दिनअघि ध्रुवे सीतामाई क्षेत्रतर्फ जान लागेको देखिए पनि पुनः फर्किएर चुरे क्षेत्रको फेदीतर्फ गएको छ।
उनका अनुसार ध्रुवे बस्तीमा प्रवेश गरेको सूचना प्राप्त हुनेबित्तिकै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय तथा स्थानीय टोललाई तत्काल जानकारी गराइने व्यवस्था गरिएको छ। साथै निकुञ्जका सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर हात्तीलाई सुरक्षित रूपमा पुनः निकुञ्जतर्फ फर्काउने तयारीसमेत गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्र हाल करिब ४५ देखि ५० वटा जंगली हात्ती रहेको निकुञ्जले जनाएको छ।