नेपालगञ्ज – मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विभिन्न गाउँमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको छ।
वन्यजन्तुको सम्भावित आक्रमणबाट स्थानीयलाई सुरक्षित राख्न कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर र राप्तीसोनारी–२ को गोभारपुरमा साइरन प्रणाली स्थापना गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिए।
उनका अनुसार उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, निलगाईलगायत वन्यजन्तु बस्ती नजिक आएको अवस्थामा समयमै सूचना प्रवाह गरी स्थानीयलाई सतर्क रहन सहयोग गर्नेछ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले वन्यजन्तुबाट हुने जोखिम घटाउने उद्देश्यले चार स्थानमा पूर्वसूचना प्रणाली जडान गरिएको बताए। उनका अनुसार गत असारमा निकुञ्जभित्रका वन्यजन्तुको गतिविधि निगरानी गर्न जिपिएस ट्र्याकिङ प्रणालीसमेत स्थापना गरिएको छ।
निकुञ्ज क्षेत्रबाट बस्तीलाई सुरक्षित राख्न तारबार, मेषजाली, बाख्रा सुधार तथा भकारो सुधारजस्ता कार्यक्रम सञ्चालन भइरहेको कँडेलले जानकारी दिए। जिपिएस ट्र्याकिङ प्रणालीमार्फत निकुञ्जभित्र हुने वन्यजन्तुको गतिविधिबारे जानकारी लिन सहज भएको उनको भनाइ छ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले लामो समयदेखि जंगली हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट जनधन तथा अन्नबालीको क्षति व्यहोर्दै आएका छन्। निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व नियमित समस्या बन्दै आएको छ।
बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवले गाउँमा हात्ती वा अन्य वन्यजन्तु प्रवेश गर्नेबित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै सूचना पाएर सावधानी अपनाउने गरेको बताए। यसले मानवीय क्षति रोक्न महत्वपूर्ण सहयोग पुगेको उनको भनाइ छ।
बाँके राष्ट्रिय निकुञ्जमा हाल नौ वटा जंगली हात्ती रहेका छन्। बस्ती सुरक्षाका लागि विभिन्न स्थानमा तारबार गरिए पनि जंगलमा पर्याप्त आहारको अभाव हुँदा हात्तीलगायत वन्यजन्तु समय–समयमा बस्तीमा प्रवेश गर्ने गरेका छन्।