कञ्चनपुर। कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिलाहरू एकैसाथ बेपत्ता भएका छन्।
भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलमा बस्ने उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न गएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र प्रवेश गरेका थिए। आइतबार साँझसम्म पनि घर नफर्किएपछि उनीहरू हराएको पुष्टि भएको हो।
दुई समूहमा विभाजित थिए महिलाहरू च्याउ खोज्न हिँडेका महिलाहरू ९ जना र ५ जनाको दुईवटा छुट्टाछुट्टै समूह बनाएर निकुञ्जभित्र छिरेका थिए।
चौधरी समुदायका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी र सुनिता चौधरी, आग्री र सुनार समुदायका बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार च्याउ टिप्न गएका थिए
प्रहरी भन्छ,’च्याउ खोज्न निकुञ्जको घना जंगलभित्र पसेका १४ जना महिलाहरू सम्पर्कविहीन भएको जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन गरिएको छ। उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ।’
जंगलमा हराएका महिलाहरूको अवस्था अझै अज्ञात रहेकाले स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले निकुञ्ज आसपासका क्षेत्रमा खोजी कार्यलाई बढावा दिएको छ।