चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत गत आर्थिक वर्षमा रु. एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षति, अन्नबाली, पशुधन तथा अन्य क्षतिका लागि उक्त रकम उपलब्ध गराइएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुका कारण सामान्य घाइते भएका व्यक्तिको उपचारका लागि रु. एक लाख ३४ हजार १७६ र गम्भीर घाइतेको उपचारका लागि रु. २९ लाख ४२ हजार ४८१ खर्च गरिएको छ । यस्तै वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका पाँच जनाका परिवारलाई रु. ५० लाख राहत प्रदान गरिएको छ ।
यसैगरी वन्यजन्तुबाट पशुधनमा भएको क्षतिका लागि रु. २३ लाख ६० हजार २००, भण्डारण गरिएको अन्न क्षतिबापत रु. ७० हजार, घरगोठ क्षतिका लागि रु. तीन लाख ३९ हजार ६५०, अन्नबाली क्षतिबापत रु. २१ लाख आठ हजार ३०० र कुखुरा क्षतितर्फ रु. ४३ हजार ५०० राहत वितरण गरिएको सूचना अधिकारी थापा मगरले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुबाट हुने क्षतिको राहतस्वरूप हरेक वर्ष सरकारले सहयोग उपलब्ध गराउँदै आएको छ ।