गण्डकी । तीज पर्व आउन अझै करिब दुई महिना बाँकी छ । तर युट्युबमा सार्वजनिक हुन थालेका तीज गीतहरूले भने पर्व नजिकिएको आभास दिन थालेका छन् । साउन सुरु हुनुअघि नै तीज गीतहरू सार्वजनिक हुने क्रम बढेको छ ।
यस वर्ष पनि विभिन्न विषय, भावना र शैली समेटिएका तीज गीतहरू बजारमा आएका छन् । गायिका एलिना चौहानको युट्युब च्यानलबाट गत शनिबार सार्वजनिक भएको ‘नौरती फुली’ गीतले छोटो समयमै दर्शकको राम्रो साथ पाएको छ । सार्वजनिक भएको दुई दिनमै उक्त गीतले करिब साढे चार लाख भ्युज प्राप्त गरेको छ ।
दीपक शर्माको शब्द तथा सङ्गीत रहेको उक्त गीतमा एलिना चौहानसँगै रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बूको स्वर रहेको छ । गीतको श्रव्यदृश्यमा स्मारिका ढकाल, जुना सुन्दासलगायत कलाकारको नृत्य तथा अभिनय देख्न सकिन्छ । लोकप्रिय गायिकाहरूको स्वर र आकर्षक प्रस्तुतिका कारण गीतले दर्शक–स्रोताको ध्यान खिचेको छ ।
त्यस्तै, देवी घर्तीमगर र सुनिता बुढामगरको स्वर रहेको ‘तीज आयो बरिलै’ गीत पनि युट्युबमा सार्वजनिक भएको केही दिनमै चर्चामा आएको छ । तीन दिनअघि सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म झन्डै ५० हजारपटक हेरिएको छ ।
समीक्षा अधिकारी र प्रकाश पराजुलीको स्वर रहेको ‘लाहूरेनी’ पनि यस वर्षको अर्को चर्चित तीज गीतका रूपमा सार्वजनिक भएको छ । बिमल अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतमा बिमल अधिकारी, सलिना खत्रीलगायत कलाकारको अभिनय रहेको छ ।
यी प्रतिनिधि गीतहरूमा प्रेम, सौन्दर्य, पारिवारिक सम्बन्ध र भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ । तीज नजिकिँदै जाँदा हरेक दिनजसो नयाँ तीज गीत सार्वजनिक भइरहेका छन् । तीजको मौसम सुरु भएपछि धेरै कलाकार अन्य विधाका गीतभन्दा पर्व विशेष गीत निर्माणमा केन्द्रित हुने गरेका छन् । यस अवधिमा तीज गीतले लोकदोहोरीलाई समेत केही समय ओझेलमा पार्ने गरेको छ ।
तर पछिल्ला वर्षहरूमा तीज गीतको मौलिकता र परम्परागत भावनाबारे बहस पनि हुँदै आएको छ । विगतका तीज गीतहरू महिलाका दुःख, पीडा, सामाजिक असमानता र समसामयिक विषय उठाउने माध्यमका रूपमा चिनिन्थे । महिलाहरूले आफ्ना भोगाइ, संघर्ष र अधिकारका आवाज गीतमार्फत अभिव्यक्त गर्ने गरेका थिए ।
अहिले भने तीज गीतहरूमा प्रेम, रोमान्स र मनोरञ्जनका विषय बढी प्राथमिकतामा परेको देखिन्छ । कलाकारहरू भने समाजको परिवर्तन, प्रविधिको विकास र बदलिँदो दर्शक रुचिअनुसार गीतको शैलीमा परिवर्तन आउनु स्वाभाविक भएको बताउँछन् ।