काठमाडौँ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा अर्को सूचना जारी नभएसम्म दैनिक बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारी सञ्चालन गर्न अनुमति दिइएको छ।
त्यसैगरी, कान्ति लोकपथमा पनि दैनिक अपराह्न ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी–ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहित ढुङ्गा–माटो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोरमा सवारी आवागमन ठप्प भएको छ।
उता, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं. ८ गिम्दी तथा वडा नं. ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेपछि बिपी राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीले वर्षा जारी रहेकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।