काठमाडौं । न्यायको माग गर्दै निहारिका राजपुत र बिनु यादवले शनिवार सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका छन् । गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध भएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध जनाएका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निहारिका राजपुतले पत्रकार र मेयर हुँदा आफ्नो मुद्दामा साथ दिएका रवि लामिछाने र बालेन्द्र शाह अहिले सत्ता र शक्तिमा पुगेपछि मौन रहेको आरोप लगाइन् ।
पीडितहरूले सिंहदरबार प्रवेशका लागि पास भए पनि प्रहरीले भित्र जान नदिएको र करिब चार घण्टासम्म बाहिरै कुराएको गुनासो गरे । धर्नाका क्रममा प्रहरीसँग भएको घर्षणमा आफ्ना लुगा च्यातिएको र शारीरिक चोटसमेत लागेको उनीहरूको दाबी छ ।
निहारिकाले बलात्कारपछि जन्मिएको आफ्नो बच्चाको डीएनए परीक्षण, मिलापत्रस्वरूप भएको विवाह र त्यसपछि भोग्नुपरेको घरेलु हिंसाबारे उल्लेख गर्दै नयाँ सरकारसँग राखेको अपेक्षा निराशामा बदलिएको लगाइन् ।
उनीहरूले गृहमन्त्रीले आफूहरूलाई बेवास्ता गर्दै पाँच वर्षीय बालकलाई समेत नाघेर गएको भन्दै आक्रोश व्यक्त गरे । आफ्ना मागको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि उनीहरूले दिए ।