काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालन नगर्न निर्देशन दिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार र आइतबार ती क्षेत्रमा अति भारी वर्षा हुने सम्भावना रहेकाले रातिको यात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै यो निर्णय गरिएको हो। प्राधिकरणले आवश्यकता परे जुनसुकै समयमा पनि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न सकिने चेतावनी दिएको छ।
रातिको सवारी सञ्चालनमा रोक लगाइएका जिल्लामा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्।
यस्तै, मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार कोशी, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही क्षेत्रमा अति भारी वर्षा हुने जनाएको छ।
भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले प्राधिकरणले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र विशेष गरी रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ। साथै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा सार्ने तयारी गर्न र नदी किनार तथा पहिरोको उच्च जोखिम भएका बस्तीका नागरिकलाई थप सावधानी अपनाउन आग्रह गरिएको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन प्राधिकरणले अनुरोध गरेको छ।
