काठमाडौँ । श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार सङ्खुवासभाको चैनपुर नगरपालिका–७ स्थायी घर भई हाल मादी नगरपालिका–४ डाँडागाउँ बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका क्रममा उनले घरमै रहेको धारिलो हतियार (खुकुरी) प्रयोग गरी श्रीमतीमाथि आक्रमण गरेका थिए। घटनास्थलमै फुलमायाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको खुकुरी बरामद गरिएको छ। प्रहरीले आरोपित अमरबहादुर सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।