इस्लामाबाद । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा फौजले सञ्चालन गरेको गुप्तचरीमा आधारित विभिन्न कारबाहीमा २४ जना लडाकु मारिएका छन् ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार विगत २४ घण्टामा सञ्चालन गरिएका विभिन्न अपरेसनका क्रममा ती लडाकु मारिएका हुन् ।
प्रतिबन्धित संगठन तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले पछिल्लो समय विशेषगरी प्रहरी कर्मचारीलाई लक्षित गरी आक्रमण तीव्र बनाएपछि सुरक्षा फौजले उक्त क्षेत्रमा खोजी तथा कारबाही अभियानलाई तीव्र पारेको जनाएको छ ।
आईएसपीआरका अनुसार मारिएका लडाकुहरू सुरक्षाकर्मी र सर्वसाधारणको ज्यान जाने विभिन्न आतंकवादी गतिविधि तथा आक्रमणमा संलग्न थिए । कारबाहीका क्रममा ठूलो परिमाणमा हतियार तथा विस्फोटक पदार्थ पनि बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सुरक्षा फौजले घटनास्थल आसपासका क्षेत्रमा थप खोजी अभियान जारी राखेको छ । उक्त क्षेत्रमा बाँकी रहेका लडाकुलाई निमिट्यान्न पार्न तथा हालैका आतंकवादी आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा कारबाहीलाई निरन्तरता दिइने आईएसपीआरले जनाएको छ ।