नेपालगञ्ज । बाँकेको खजुरा बजारस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि जडान भएर पनि सञ्चालनमा आउन नसकेको लिक्विड अक्सिजन प्लान्ट शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईका अनुसार २० किलोलिटर क्षमताको उक्त प्लान्टमा हाल १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सेवा सुरु गरिएको हो। अस्पतालकै आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि दैनिक सिलिण्डरमा अक्सिजन भरेर ढुवानी गर्नुपर्ने झन्झट हटेको उनले बताए।
डा. भट्टराईका अनुसार प्लान्ट सञ्चालनसँगै अक्सिजन सुरक्षित रूपमा भण्डारण गर्न सकिने भएकाले सेवाप्रवाह थप सहज र भरपर्दो बनेको छ। साथै, केमोथेरापी वार्डमै छुट्टै फार्मेसी सञ्चालनमा आएको र रेडियोलोजी तथा प्रयोगशालाको डायग्नोस्टिक सेवा पनि एउटै भवनबाट उपलब्ध गराउन थालिएको उनले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको समन्वय तथा युएसएडको आर्थिक सहयोगमा अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडान गरिएको थियो। अस्पतालले लायन्स क्लबको समन्वयमा छिट्टै बिरामीका कुरुवाका लागि विश्राम गृह (कुरुवा घर) सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ।
धार्मिक अनुष्ठानबाट संकलित जनसहयोगमा निर्माण भएको यो अस्पताल २०७२ सालमा संघीय सरकारलाई हस्तान्तरण गरिएको थियो। सरकारले अस्पतालको स्वामित्व लिए पनि हालसम्म स्थायी दरबन्दी स्वीकृत नभएकाले अस्थायी, करार तथा ज्यालादारी स्वास्थ्यकर्मीमार्फत सेवा सञ्चालन भइरहेको छ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। अस्पताल नेपालगञ्ज बजारदेखि करिब १० किलोमिटर पश्चिममा अवस्थित छ।