काठमाडौँ । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँका बजारमा हरियो चुरा, पोते र मेहन्दीको कारोबार बढेको छ। साउनमा महिलाहरूले हातमा मेहन्दी लगाउने, हरियो चुरा तथा पहेँलो पोते लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा पछ्याउने क्रम बढेसँगै यसको माग पनि बढेको हो।
हिन्दू धर्मावलम्बीहरूले साउन महिनालाई भगवान् शिवको विशेष महिनाका रूपमा लिने गर्छन्। यस अवधिमा महिला तथा पुरुषले शिवको पूजा आराधना गर्ने परम्परा छ। महिलाहरूले साउनभर हरियो चुरा, पहेँलो पोते र मेहन्दी लगाउने गर्छन् भने पुरुषहरूले पहेँलो वस्त्र धारण गर्ने चलन रहेको छ।
काठमाडौँको इन्द्रचोकमा चुरापोतेको व्यापार गर्दै आएका अहमद मुसलमानले साउन सुरु भएसँगै व्यापारमा उल्लेख्य वृद्धि भएको बताए। उनका अनुसार सामान्य समयमा दैनिक ८ देखि १० हजार रुपैयाँसम्मको कारोबार हुने गरे पनि पछिल्ला केही दिनयता दैनिक २० देखि २५ हजार रुपैयाँसम्म पुग्ने गरेको छ।
इन्द्रचोककै अर्का व्यवसायी हसन अन्सारीले पनि चुरापोते किन्न आउने ग्राहकको सङ्ख्या बढेको बताए। उनका अनुसार विवाहको मौसममा बढी ग्राहक आउने गरे पनि साउन सुरु हुनुअघि नै अन्य समयको तुलनामा बजारमा चहलपहल बढेको छ।
साउन सुरु हुनुअघि नै काठमाडौँका असन, इन्द्रचोक, बागबजारलगायतका प्रमुख बजार क्षेत्रमा ग्राहकको भीड बढेको छ। विशेषगरी विवाहित महिलाले साउनमा हरियो चुरा र पोते लगाउने धार्मिक तथा सांस्कृतिक मान्यताका कारण यसको व्यापार फस्टाएको व्यवसायीहरू बताउँछन्। यससँगै ब्युटीपार्लरदेखि सडकसम्म मेहन्दी लगाउने महिलाको भीड देखिन थालेको छ।
राजधानीका बजारमा हरियो चुरा र पोतेका विभिन्न डिजाइन तथा मूल्यका सामग्री बिक्रीका लागि राखिएका छन्। ग्राहकको रुचिअनुसार स्वदेशी तथा आयातित दुवै प्रकारका सामग्री बजारमा उपलब्ध छन्।
गोङ्गबुबाट इन्द्रचोक चुरापोते किन्न आएकी सरस्वती दवाडीले साउनमा हरियो चुरा र पोते लगाउनु सांस्कृतिक परम्पराको संरक्षण भएको बताइन्। उनका अनुसार परिवार र साथीभाइसँग मिलेर मेहन्दी लगाउने, हरियो पहिरन लगाउने तथा धार्मिक गतिविधिमा सहभागी हुने चलनले साउनको विशेष महत्व बढाएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार साउनमा माता पार्वतीले भगवान् शिवलाई प्रसन्न गरी सौभाग्य प्राप्त गरेको किंवदन्तीका आधारमा महिलाहरूले हरियो चुरा, पोते र मेहन्दी लगाउने परम्परा विकास भएको हो।
उनले साउन महिना हरियालीसँग जोडिएको महिना भएकाले पनि महिलाहरूले हरियो चुरा र पोते लगाउने गरेको बताए। “वर्षा हुने, प्रकृतिमा हरियाली छाउने र बोटबिरुवामा नयाँ पालुवा पलाउने समय भएकाले पनि यो महिनासँग हरियो रङ जोडिएको छ,” उनले भने।
तीज नजिकिँदै जाँदा चुरापोतेको माग अझ बढ्ने उनको भनाइ छ। आचार्य पन्थीका अनुसार हरियो चुरा र पहेँलो पोते लगाउने संस्कृति भारतबाट प्रभावित भएको हो, जहाँ पनि यस्ता सामग्रीको प्रयोग व्यापक रूपमा हुने गरेको छ।