काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौं उपत्यकासहित देशका ३१ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार लगातारको वर्षाका कारण विभिन्न साना तथा मझौला नदी–नालामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
पूर्वानुमानअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, बाँके, बर्दिया, कैलाली र सुर्खेतलगायत जिल्लाबाट बग्ने साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, ओखलढुंगा, रामेछाप, रुकुम पूर्व, जाजरकोट, डोटी, डडेलधुरा, बझाङ, दार्चुला तथा आसपासका जिल्लाका साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।
महाशाखाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, अनावश्यक रूपमा नदी तर्न वा नदी आसपासका जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र चेतावनीको पालना गर्न आग्रह गरेको छ।
