वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनसम्बन्धी डाटामा साइबर घुसपैठ गरेको दाबी गर्दै अमेरिकी निर्वाचन पूर्वाधार लामो समयदेखि साइबर आक्रमणको जोखिममा रहेको बताएका छन्।
ट्रम्पले अमेरिकी नागरिकलाई वर्षौंदेखि निर्वाचन पूर्वाधारको सुरक्षाबारे गलत जानकारी दिइएको आरोप लगाउँदै इलेक्ट्रोनिक मतदान मेसिन र मतगणना प्रणाली पर्याप्त रूपमा सुरक्षित नभएको बताएका हुन्।
उनले हालै सार्वजनिक गरिएका अमेरिकी गुप्तचर समुदाय (यूएस इन्टेलिजेन्स कम्युनिटी) का मूल्याङ्कन प्रतिवेदन तथा अन्य कागजातले अमेरिकी निर्वाचन प्रणाली साइबर आक्रमणका लागि अत्यन्त संवेदनशील रहेको देखाएको दाबी गरे।
ट्रम्पका अनुसार ती प्रतिवेदनले रूस, चीन, इरान, उत्तर कोरिया तथा केही गैर-राज्य समूहसँग अमेरिकी निर्वाचन पूर्वाधारमा हस्तक्षेप गर्न वा क्षति पुर्याउन सक्ने क्षमता रहेको निष्कर्ष निकालेका छन्।
यसैबीच, ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनयता चीनले अमेरिकी निर्वाचनसम्बन्धी डाटामा अहिलेसम्मकै ठूलो साइबर घुसपैठ गरेको दाबी गरेको छ।
ह्वाइट हाउसका अनुसार उक्त साइबर घुसपैठमार्फत चीनले करिब २२ करोड (२२० मिलियन) अमेरिकी मतदाताको व्यक्तिगत विवरण गैरकानुनी रूपमा प्राप्त गरेको दाबी गरिएको छ।
यद्यपि, चीनले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। साथै, अमेरिकी प्रशासनले गरेको दाबीको स्वतन्त्र पुष्टि पनि हालसम्म हुन सकेको छैन।