चितवन – चितवन जिल्लामा पछिल्लो एक वर्षको अवधिमा २७४ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको डेंगु परीक्षण गर्दा २७४ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१६ जना चितवन जिल्लाका रहेका छन् भने ५८ जना अन्य जिल्लाका छन् ।
केसीका अनुसार चितवनका स्थानीय तहमध्ये सबैभन्दा बढी संक्रमण रत्ननगर नगरपालिकामा देखिएको छ । रत्ननगरमा मात्रै ८७ जनामा डेंगु पुष्टि भएको छ । यस्तै, भरतपुर महानगरपालिकामा ५६ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकामा २१ जना, कालिका नगरपालिकामा ११ जना तथा माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन–तीन जनामा संक्रमण देखिएको छ ।
यसअघि गत आर्थिक वर्षमा चितवनमा डेंगुको संक्रमण निकै बढेको थियो । उक्त अवधिमा १७ हजार ३५३ जनाको परीक्षण गर्दा ३ हजार ८८९ जनामा डेंगु पुष्टि भएको थियो । सोही वर्ष डेंगुका कारण एक जनाको मृत्यु भएको थियो ।
वर्षायामपछि घाम लाग्ने र वातावरणमा चिस्यान रहने भएकाले लामखुट्टेका लागि अनुकूल अवस्था सिर्जना हुने हुँदा विशेषगरी भदौ र असोज महिनामा डेंगुको संक्रमण बढी देखिने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
चिकित्सकका अनुसार डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । उक्त लामखुट्टेले सामान्यतया बिहान र बेलुकाको समयमा टोक्ने गरेको केसीले जानकारी दिए ।
एडिस लामखुट्टेले प्लास्टिकका भाँडा, टिनका डब्बा, ड्रम, पुराना टायर, गमला, कुलर, खुला पानी ट्याङ्की लगायतका स्थानमा जमेको सफा पानीमा अण्डा पार्ने गर्छ ।
डेंगु संक्रमण भएपछि उच्च ज्वरो आउने, टाउको तथा आँखाको गेडी दुख्ने, शरीर, जोर्नी, हड्डी र मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने तथा रक्तस्राव हुने जस्ता लक्षण देखिन सक्छन् । साथै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत आउने लगायतका समस्या पनि देखिन सक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुका साथै घर वरपर पानी जम्न सक्ने वस्तुहरू हटाउन आवश्यक रहेको कार्यालयले जनाएको छ । खाली बट्टा, पुराना टायर, ड्रम तथा अन्य सामग्रीमा पानी जम्न नदिन र सरसफाइमा ध्यान दिन केसीले आग्रह गरेका छन् ।